एस्पेरान्तो किन? एकैछिन सोचौँ, संसारमा कति भाषा होलान् ? हाम्रो जस्तो सानो देश नेपालमा नै करीब एक सय भाषा भएको अन्दाज गरिन्छ भने यत्रो संसारको पाँच अरब बासिन्दाले बोल्ने भाषाहरू यति नै छन् भनेर गन्नु असम्भव नै नभए पनि त्यत्ति सामान्य कुरा पनि होइन ।अब एकातिर संसारका सबै मानिस एक हुन्– को गोरा को काला, को धनी को गरीब, को सभ्य को असभ्य, सबै मानिस भाइ भाइ भएर बाँच्नु पर्दछ भनेर विश्व भातृत्ववादको नारा घन्काइन्छ, बसुधैव कुटुम्बकम् जपिन्छ भने अर्को तिर यो अङ्ग्रेजी बोल्ने, यो जापानी बोल्ने, यो नेपाली बोल्ने भनेर मानिस मानिसको वर्गीकरण गर्ने मात्र हैन, बोलिने भाषाको आधारमा जातीय दुश्मनी र ऐतिहासिक शत्रुतालाई बीचमा पर्खाल बनाएर बैमनश्यताको भावना समेत श्रृजना गर्ने हाम्रो परिपाटी रहिआएको छ । यस्तो वातावरणमा हामी यो कल्पना मात्र गर्न सक्छौँ कि संसारको अर्को कुनामा जाँदा भाषिक समस्या आइनपरोस् अनि आफ्नो घरका सदस्यसँग झैँ कुराकानी गर्न सकियोस् । तर यथार्थमा यो सम्भव देखिँदैन किनभने एउटै भाषामा पनि भौगोलिक र अन्य कारणहरूले गर्दा साधारण असमानता आएर विभिन्न भाषिकाहरूको निर्माण हुन जान्छ भने यत्रो ठूलो संसारमा सबैको मुखमा एउटै मात्र बोली हुनसक्ला भन्ने कुरा कल्पना पनि गर्न सकिँदैन । आजको युगमा मानिसहरूको विभिन्न देशहरूसँग विभिन्न सम्बन्ध रहिरहन्छ, संसारभरका देशहरूमा जानु भनेको टोल छिमेकीको घर जानु जत्तिकै भइरहन्छ । यस्तो अवस्थामा सबै देशको सबै भाषा सिकिराख्ने कुरा पनि आएन । त्यसैले आज भोलि यस्तो एउटा भाषा, जसले दुई भिन्न भिन्न भाषाभाषी देश बीच विचारको आदानप्रदान गराउँछ, त्यसको आवश्यकता महसुस गरिनु स्वाभाविक हो । यसका लागि अन्तर्राष्ट्रिय सञ्चारको निमित्त एउटा देशको भाषा विश्वका अन्य देशवासीहरूले सिकेर आफ्नो देश बाहिर उक्त भाषाको माध्यमबाट सञ्चार गर्न सक्दछ । यहाँ कुन चाहिँ भाषालाई यस्तो अन्तर्राष्ट्रिय भाषा बनाउने भन्ने प्रश्न हाम्रो सामु आउँछ र कुनै एक सम्पन्न देशको भाषा नै विश्व प्रयोजनको लागि उपयुक्त वा स्तरीय मानिन्छ । यो उपाय पनि राम्रै हो तर यो त्यसबेला मात्र मान्य हुनेछ, जुन बेला संसारका सबै मानिसले त्यस देशप्रति समर्पणको भावना राख्न मञ्जुर गर्दछ । अन्यथा कुनै पनि स्वाभिमानी व्यक्ति अन्तर्राष्ट्रिय प्रयोगको लागि भनेर कुनै देश विशेषको भाषा सिक्न मन पराउँदैन । उसले आफ्नो मातृभाषाको पनि उत्तिकै अस्तित्व देख्छ, जति विदेशी भाषाको हुन्छ । अर्को, यस्तो विदेशी भाषा सिकेर बोलेमा उसले कहिल्यै त्यति राम्रो र स्पष्ट बोल्न सक्दैन, जति त्यो देशको एक अनपढ व्यक्तिले बोल्न सक्छ अनि त्यस्तो परिस्थितिमा असमानताको वातावरण श्रृजना हुनु स्वाभाविक पनि हो । यस बाहेक यस किसिमको प्रक्रियाले गर्दा विश्व समक्ष उक्त भाषाका धनी देशको प्रतिष्ठा स्वतः बढ्छ र अप्रत्यक्ष रूपमा उपनिवेशले झैँ अरू देशले त्यो देशलाई सम्मानको दृष्टिले हेर्नुपर्ने हुन्छ र त्यहाँको संस्कृति र रहनसहन अँगाल्नु पर्ने हुन्छ । यस प्रकारको विश्वभाषाको कुरा गर्दा हामी नेपालीहरू साधारणतया अङ्ग्रेजीलाई अगाडि राख्छौँ । बाह्र वर्ष स्कुल क्याम्पसमा पढेर पनि जाँचमा पास हुन धौधौ पार्ने यो भाषा के विश्वभाषा बन्न सक्ला ? प्रश्न हाम्रै लागि पनि सोचनीय छ । त्यसमाथि पनि संसारको जुनसुकै कुनामा पनि अंग्रेजी बोलिन्छ भन्ने धारणा राख्नु गलत हुनेछ । युरोपकै कुरा गर्ने हो भने पनि ब्रिटिश द्वीपहरू बाहेक अन्य देशहरूमा बिरलै मात्र अङ्ग्रेजी बोलिन्छ । एस्पेरान्तोको जन्म कुनै एक भाषाका प्रभुत्वबाट बच्न एउटा तटस्थ, सजिलो, चाँडै सिकिने र कुनै देशको राजनीति एवम् संस्कृतिमा आँच नआउने भाषाको “निर्माण” गर्ने विचार मानिसहरूले धेरै पहिले देखि गरिआएका थिए । विश्वको पहिलो कृत्रिम अन्तर्राष्ट्रिय भाषाको रूपमा भोलापुक (Volapük) लाई लिन सकिन्छ । मार्टिन स्लायरले ई. १८८० सम्ममा बनाइसकेको यो भाषा एकताका सफल नै भयो तर पछि केही वर्षमै सिक्न गाह्रो, नमिल्ने गरी बनाइएका शब्द इत्यादि कारणले लोप हुन गयो । ई. १८८७ को जुलाई २३ तारिखका दिन यस्तै अर्को भाषा एस्पेरान्तो (Esperanto) को जन्म भयो । यस दिन डा. एस्पेरान्तो (आशावादी) भन्ने उपनामले रुसी भाषाबाट "पहिलो पुस्तक" नामक एउटा सानो पुस्तक प्रकाशित भएको थियो, जसमा सिक्न अत्यन्तै सजिलो एउटा भाषा सम्बन्धी साधारण जानकारी दिइएको थियो । यसका लेखक डा. लाजारो लुदोभिक जामेनहोफ थिए, जसको जन्म ई. १८५९ को डिसेम्बर १५ का दिन तत्कालीन रुसी प्रान्त ब्यालिस्तोक (हाल पोल्याण्ड) मा भएको थियो । त्यो प्रान्तमा राजनैतिक अस्थिरताको कारणले गर्दा विभिन्न देशका बासिन्दाहरू आएर बसेका थिए । तिनीहरूमा भाषिक असमानता रहेकोले एक आपसमा शत्रुता रहिरहन्थ्यो । यो परिस्थितिले बालक जामेनहोफलाई निकै प्रभावित गर्यो । यसैको फलस्वरुप उनले अन्तर्राष्ट्रिय भाषाको प्रारूप ई. १८७८ भित्र तयार पारे तर ऊ विदेशमा पढ्न जाँदा उनका बुबाले यसलाई वाहियात भनेर जलाइदिए । जामेनहोफ मस्को र वार्सामा चिकित्साशास्त्र अध्ययन गर्न गए र ई. १८७९ देखि १८८५ भित्र डाक्टरको उपाधि हासिल गरे । आँखाको चिकित्सक भएपछि आफ्नो लक्ष्यमा उनले पुनः कलम बढाए र ६ वर्षको अविरल खोज कार्य र अथक परिश्रमको फलस्वरुप उनले कल्पना गरेजस्तो अन्तर्राष्ट्रिय भाषाको पूर्णरूप तयार भयो । उनले आफ्नो पुस्तक छपाउनका लागि कैयन् ठाउँमा प्रयास गरे तर कसैले छापिदिन मानेन । यसैताका उनले क्लारा जिल्वेर्निकसँग विवाह गरे । तिनैका बुबाको आर्थिक सहयोग पाएर उनी पहिलो पुस्तक प्रकाशित गर्न सफल भए । त्यसपछि विभिन्न देशबाट निस्किने गरेका एस्पेरान्तो पत्रिकाहरूले यस भाषालाई सुदृढ पार्नमा मद्दत पुर्यायो । यहाँ उनले आफ्ना हितैषी एन्थोनी ग्रोबोस्कीका सल्लाह र नर्वेका जोन्सनको चिन्हको पनि प्रयोग गरेका थिए । पाँचकुने हरियो तारालाई यस भाषाको प्रतीक चिन्हको रूपमा लिइन्छ । यसको हरियो रङ्ग आशाको प्रतीक हो र ताराको पाँचकुनाले पाँच महाद्वीपको प्रतिनिधित्व गर्दछ र यो आशा लिइन्छ कि यस नयाँ भाषाले सबैलाई एकीकरण गर्ने छ । डा. जामेनहोफले पत्राचारको माध्यमबाट संसारको कुनाकुनामा यस भाषाको प्रचार गर्दै गए र यस आदर्शलाई अनुशरण गरेर थुप्रै देशका मानिसहरूले यस भाषा सिक्न र सिकाउनमा अभिरुचि देखाए । यसैको परिणाम स्वरूप आफ्नो ठूलो परिवार र कमजोर आर्थिक अवस्थाका बाबजुद पनि यिनी ई. १९०५ मा पहिलो एस्पेरान्तो महाधिवेशन (कंग्रेस) फ्रान्सको बुल्योन-सुर्-मेर शहरमा गराउन सफल भए । यसमा ३३ देशका करीब ७०० एस्पेरान्तोविद्हरू भाग लिन आएका थिए र तिनीहरूले भाषिक समस्या विना यसै भाषाको भरमा महाधिवेशन सम्पन्न गरे । यसपछि ई. १९०८ मा विश्व एस्पेरान्तो संघको स्थापना भएपछि यसको प्रचार विश्वव्यापी रूपमा नै भयो । उता आफ्नो सानो डाक्टरी पेसाले परिवारलाई आर्थिक सन्तुष्टि दिन भने जामेनहोफ सफल भएनन् र थुप्रै उतारचढावहरू पार गर्दै अन्ठाउन्न वर्षको उमेर (ई. १९०७) मा यिनको मृत्यु भयो । अाज एस्पेरान्तो कहाँ कति? आजभोलि यस भाषालाई सं.रा. संघ तथा युनेस्कोले स्थान दिएको छ । त्यस्तै विश्वका सयभन्दा बढी देशमा यस भाषा बोल्नेहरू छन् र तिनीहरू आ-आफ्नो देशको एस्पेरान्तो संघ मार्फत विश्व एस्पेरान्तो संघसँग सम्बद्ध छन् । यो भाषा पर्यटनको क्षेत्रमा बढी प्रयोग भएको पाइन्छ । आफ्नो देश विश्व सामु चिनाउन यस भाषाको प्रयोग गर्न मन पराउँछन् । विश्वका पन्ध्र भन्दा बढी रेडियो स्टेसनहरूबाट यसको प्रसारण हुन्छ । जस्तै रेडियो बेइजिङले हरेक साँझ यसै भाषाबाट कार्यक्रम दिन्छ । यस भाषाको साहित्यिक भण्डार पनि ठूलो छ संसारका लगभग सबै प्रशिद्ध साहित्यिक, धार्मिक र अन्य महत्वपूर्ण ग्रन्थहरू यस भाषामा अनुवाद भैसकेका छन्– अनूदित र मौलिक साहित्य बाहेक दुई सयभन्दा बढी पत्रपत्रिका विभिन्न देशबाट निस्कन्छन् । विभिन्न देशबाट एस्पेरान्तो सम्बन्धी हुलाक टिकट र खाम प्रकाशनमा ल्याइन्छ । विश्वका एक सय पच्चिसभन्दा बढी विश्वविद्यालयहरूमा यस भाषाबाट अध्ययन गर्ने सुविधा छ । यस बाहेक आजभोलि इन्टरनेटमा पनि यो भाषा व्यापक रूपमा प्रयोग भएको छ । हरेक देशका एस्पेरान्तो संघको वेभपेज बाहेक भाषा सिक्न सहयोग गर्ने लगायतका सैयौँ विभिन्न साइट र ब्लगहरू यस भाषामा बनेका छन् । विश्व इतिहासको विभिन्न समयमा विभिन्न राजनीतिक आक्षेप र आक्रमण भोगेर आएको यो भाषा आजभोलि संसारको सयभन्दा बढी देशमा बोलिन्छ तर यो यति जनाले बोल्छ भनेर भन्न भने कठिन छ । तैपनि धेरैले लगभग एक करोड मानिसले यो भाषा प्रयोग गर्छन् भनेर भनिन्छ । आज यो विश्वको सामु विभिन्न देशवासीहरू बीच व्यक्तिगत सम्पर्क कायम गर्ने अद्वितीय माध्यम भएको छ । विभिन्न देशमा पत्रमित्रता गर्ने सजिलो माध्यम हुनुका साथै कुनै पनि देशमा बस्ने किन नहोस्, एक एस्पेरान्तोविद् अर्कोसँग भेट्नासाथ राजनैतिक सीमाना नाघी आत्मीय मित्र बन्छन् । अझ हजार जना भन्दा बढीले पासपोर्ता सेर्भो (Pasporta Servo) नामक संस्था मार्फत एस्पेरान्तो बोल्ने विदेशीहरूलाई आफ्नो घरमा खाने बस्ने व्यवस्था गर्न तयार छन् । यति धेरै भाषाहरू बिच एस्पेरान्तो किन अन्तर्राष्ट्रिय भाषा भयो भन्ने प्रश्न आउनु स्वाभाविक हो । यसलाई अन्तर्राष्ट्रिय भाषा भन्नुको कारण यो कुनै देशको भाषा होइन, यो सिक्न एकदम सजिलो छ, यो तर्कपूर्ण छ, यसले कुनै एक संस्कृतिलाई अंगालेको छैन र यसले तटस्थ अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रोत्साहन दिन्छ । यति भैकन पनि यसले संसारको कुनै भाषा लाई विस्थापित गर्ने वा त्यसको ठाउँ लिने जस्तो उद्देश्य बोकेको छैन । विश्व भरि आफ्नै किसिमले अघि बढिरहेको यो एस्पेरान्तो आन्दोलनले निम्न बुँदालाई आफ्नो लक्ष बनाएको छ : लोकतन्त्र, विश्वव्यापी शिक्षा, प्रभावशाली शिक्षा, बहुभाषावाद, भाषिक अधिकार, भाषिक विविधता र मानव मुक्ति । यसैको लागि विश्वभरका एस्पेरान्तो बोल्नेहरू व्यक्तिगत र संस्थागत रुपमा लागिपरेका छन् । विश्वयुद्धका केही वर्ष बिराएर वर्षेनी यसका वार्षिक महाधिवेशनहरू भइरहेका छन् । जस्तै दशौँ महाधिवेशन ई. १९१५ मा पेरिसमा भएको थियो । त्यस्तै ब्रिटेन, जर्मनी, पोल्याण्ड, जापान, सं.रा. अमेरिका, चीन इत्यादि देशमा हुँदै महाधिवेशन ई. २००८ जुलाईमा भयो (जसमा नेपालबाट पनि एक जनाको सहभागिता थियो) । नेपालमा एस्पेरान्तो यसै अनुरूप नेपालमा एस्पेरान्तो भाषाको प्रचलन ई. १९५६ मा श्री टिबोर सिकेलले गरेका थिए र यसैताका काठमाडौँ एस्पेरान्तो समाजको गठन भयो । त्यसपछि श्री सिमो मिलोयेभिच आएर ई. १९६९ सम्म यो भाषा सिकाएर गए । त्यसबेला सिकेका करीब ३०० जना विद्यार्थीमध्ये महाकवि देवकोटा र नाटककार समको पनि नाम आउँछ । पछि यो राजनैतिक अस्थिरता इत्यादि कारणले यो शिलशिला शिथिल हुनगयो । फेरि ई. १९९० मा पोल्याण्डका योआकिम वेर्डिन आएर करीब ६० जनालाई सिकाए भने ई. १९९१ मा अर्को ७० जना जतिले यो भाषा सिक्ने मौका पाए । यसैबेला नेपाल एस्पेरान्तो संघको गठन भयो । त्यसपछि यस संस्थाले बेलाबेलामा एस्पेरान्तो सिकाउने काम लगायत अन्य गतिविधि पनि सो संघले गरिरहेको छ । |


